साहित्याकाशकी उज्ज्वल नक्षत्र — झमक घिमिरे


आजभन्दा झण्डै अढाई वर्षअघि सन् २०१२ अगष्ट ३ तारिख दिनको ठीक ४ बजे जीवनका काँडैकाँडाहरु बीचकी सुगन्धित गुलाफ झमकसँग मेरो भेटघाटको अवसर जुरेको थियो । भियतनामबाट आउनुभएका साहित्यकार र कलाकारको रुपमा मेरो परिचय झमकलाई प्रज्ञाप्रतिष्ठानकी तत्कालिन प्राज्ञ एवं कवि सुलोचना मानन्धरज्यूबाट भैसकेको थियो । झमक त्यसबेला साँगास्थित Spinal Injury Rehabilitation Centre (SIRC) मा केही हप्ता स्थ्योपचार गराई बालकोटस्थित आफ्नो निवासमा फर्किएर काठमाण्डौंबाट धनकुटा फर्कने तैयारीमा थिइन् । मेरो लागि त्यो सौभाग्य जुटाइदिने झमककी प्रियपात्र, विश्वासपात्र अनि आजकी झमकलाई ‘झमक’ बनाउन अतुलनीय भूमिका निभाएकी श्रद्धापात्र बहिनी मिना घिमिरेप्रति म सधन्य सदा कृतकृत्य रहिरहने छु ।

म त्यसताका आफ्नो जीवनकर्मको सिलसिलामा भियतनामको हो चि मिन्ह शहरमा कार्यरत थिएँ जुन भूमिमा बसेर मैले ‘जीवन काँडा कि फूल’ की झमकलाई आद्योपान्त पढिसकेकी थिएँ । त्यही अद्वितीय कृति थियो जसको अध्ययनपश्चात् मलाई झमकसँग भेट गर्ने तीव्र आकांक्षा पलाएको थियो । त्यही समय मैले आफ्नो कल्पनाकी झमकलाई रङ्ग र कुचीहरुले क्यानभासमा सजाएँ र ‘भिक्षु योद्धा – धैर्य आत्मविश्वास र लगनशीलताको’ Ú ‘A Nun of Inner Strength Determination & Persistence’ शीर्षकको त्यो मेरो पेन्टिङ् सन् २०१३ अगष्टमा नेपाल कला परिषद बबरमहलमा आयोजित ‘बुद्धका अनुहारहरु’ (Faces of Buddha) शीर्षकको मेरो सातौं एकल चित्रकला प्रदर्शनीमा समावेश भई दर्शकहरुमाझ लोकप्रिय पनि भएको थियो ।

सन् २०१३ डिसेम्बरमा भियतनामको हो चि मिन्ह शहरमा Ho Chi Minh City University of Social Science & Humanities द्वारा आयोजित तथा जापान फाउण्डेशनद्वारा प्रायोजित ‘Literature in the Global Context of the 21st Century’ शीर्षकको अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने सुअवसर मैले प्राप्त गरेकी थिएँ । भियतनामको साहित्य जगतमा झमक सुपरिचित नाम थिइन् । मैले “नेपाली नारी साहित्य स्रष्टाहरु र नेपाली साहित्यका उल्लेखनीय कृतिहरु” बारे त्यस सम्मेलनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दा ‘जीवन काँडा कि फूल’ भियतनामी भाषामा अनुवादका लागि प्रस्ताव पेश पनि गरेकी थिएँ । सोही अवसरमा हो चि मिन्ह विश्वविद्यालयको ‘Department of Oriental Studies’ को पुस्तकालयमा नेपाली भाषा साहित्यका लगभग १०० वटा कृतिहरुको उपहार पनि प्रदान गरेकी थिएँ । ‘जीवन काँडा कि फूल’ को अंग्रेजी संस्करण ‘A Flower in the Midst of Thorns’ लाई Ho Chi Minh University of Social Science & Humanities को Department of Literature & Linguistic तथा Department of Oriental Studies को स्नातकोत्तर तथा विद्यावारिधीको शोधकार्यमा संलग्न गराइएको छ ।

झमकसँगको मेरो पहिलो भेटघाट र त्यो मीठो वार्तालाप मेरा लागि एक अद्भुत व्यक्तिसँगको साक्षात्कार नै थियो । त्यही समय मैले लेखेका कृतिका पानाहरु प्नि झमकले बडो रोचकताका साथ पल्टाउँदै आफ्नो देब्रे खुट्टाका औंलाहरुमा कलम च्याँपी सेतो पानामा ‘नमस्कार’ र ‘धन्यवाद’ लेखी साह्रै भावपूर्ण स्वागत अभिवादन र सकारात्मक प्रतिक्रिया जनाएकी थिइन् । हर्षले गद्गद् म मेरो नयाँ मित्रसँगको त्यस अविस्मरणीय वार्तालापका क्षणहरुमा सच्चिदानन्दित भैरहेकी थिएँ । त्यही समय झमकको डायरीको पाण्डुलिपि मेरो आँखा अगाडि परेको थियो जसलाई हत्केलामा राखी सरसर्ती पानाहरु पल्टाउँदै केही अंश पढ्दै जाँदा मलाई एनी फ्रेङ्कको डायरीको सम्झना भएको थियो । आज त्यही पाण्डुलिपिको पुस्तकाकार रुप–‘समय बिम्ब’ मेरो हातमा छ । एकातिर झमकको आत्मकहानी– ‘जीवन काँडा कि फूल’ का भूमिका लेखक एवं प्रकाशक अनलाइन नेपाली साहित्य मञ्चका संस्थापक एवं विश्व नेपाली साहित्य महासंघका अध्यक्ष लण्डननिवासी साहित्यकार श्री विश्वासदीप तिगेला त अर्कोतिर झमकको डायरी ‘समय–बिम्ब’ का भूमिका लेखक, सम्पादक तथा प्रकाशक विश्व नेपाली साहित्य महासंघका महासचिव, कथाकार एवं समालोचक साहित्यकार ताइवाननिवासी डा. लेखनाथ काफ्ले – यी दुवै साहित्य साधकहरुलाई जति नै धन्यवाद दिए पनि कम नै हुन्छ । उहाँहरुमा हार्दिक साधुवाद ! यी दुवै कृतिहरु मेरो आँखाभरि, मनभरि र मस्तिष्कभरि छाएका छन् र कृतिकार झमक ‘व्यक्ति एक व्यक्तित्व अनेक’ बनी मेरो छातिभरि, मुटुभरि र अन्तःकरणभरि सजिएकी छन् ।

आत्मकथा र डायरीभित्र झमक विविध व्यक्तित्वकी धनी एक महिमामण्डित अनेकन गुणगरिमाले सुसज्जित अद्वितीय नारीरत्नका रुपमा प्रस्तुत हुन्छिन् । यस्ती सन्नारीलाई स्वदेश र विदेशबाट समेत जति नै प्रंशसात्मक पुष्पाहारहरु चढाए पनि कम नै हुन्छ । झमकको कृति उनका विचार र भावनाहरुको सम्मोहक फूलबारी हो । डायरी लेखनमा उनको हृदय छ – सत्य हृदयको सौन्दर्य – त्यहाँ उनको आत्मा बोल्दछ । आफ्नो दैनिकीमा झमकले समाजका कुनै पनि पक्षलाई नछोएकी छैनन् । उनको डायरीभित्र प्रेम र यौनका कुराहरुदेखि लिएर शिक्षा, स्वास्थ्य, विज्ञान, कला र साहित्य जस्ता विविध विषयहरुमा सत्प्रेरक प्रसङ्ग, घटना, अनुभव, छलफल र टिप्पणीहरु छन् । उनको लेखाइमा बालश्रमबिरुद्ध आवाज, लागुपदार्थ सेवनको विरोध र समाजका कुरीति कुनीतिमाथि प्रहारदेखि लिएर धर्मको नाममा भएका युद्ध–प्रतियुद्ध तथा शक्तिराष्ट्रहरुको साना र निर्धा राष्ट्रहरुमाथिको औपनिवेशिक प्रवृत्ति र निरङ्कुशता प्रतिको विद्रोह पनि प्रतिध्वनित भएको छ । सरुभक्तका कविताहरुदेखि लिएर कार्ल माक्र्सको वैज्ञानिक समाजवादका कुरा, बालसाहित्यको उत्थानका लागि सुझावदेखि लिएर सिद्धार्थदेखि बुद्धसम्मको यात्रा र जीवन–दर्शनको कुराहरु गुञ्जित भएका छन् । अतः झमकको आत्मकथा र डायरीभित्र विचरण गर्दा सारांशमा निम्न विश्लेषणहरु प्रस्तुत गर्न उपयुक्त सम्झन्छु–

(१) अक्षरकी उपासक शब्दसाधक कलमवीर झमक

“सेन्ट जोनले बाइबलमा शुरुमा शब्द थियो, शब्द ईश्वरसँग थियो, शब्द नै ईश्वर थियो” “In the beginning there was word. The word was with God. The word was God.” भनेझैं झमकका लागि अक्षर नै ईश्वर हो शब्द नै भगवान् हो ।

अक्षर–अक्षर मिलेर नै ‘ऊँ’ बन्दछ; मन्त्र, प्रार्थना र आशीर्वाद बन्दछ, अतः मेरो विचारमा पनि अक्षरमा नै भगवान्को बास हुन्छ । झमकका सम्बन्धमा डा. लेखनाथ काफ्ले आफ्ना अभिव्यक्ति यसरी पोख्नु हुन्छ–“कलमबिनाकी झमक र माछापुछे« बिनाको पोखराको कल्पना गर्न सकिंदैन । साँच्चै झमक लेख्नका लागि नै जन्मेकी हुन् ।“ डा. काफ्लेको स्वरमा स्वर मिलाउँदै मलाई भन्न न लागेको छ– झमकलाई उनको जीवनले नै एउटी तपस्यारत लेखिका बनायो । उनलाई लेख्न आत्माले सिकायो, विश्वविद्यालयले होइन । प्रकृतिले सिकाइन्, पुस्तकले होइन । नियतिले सिकायो, नियमले होइन । नदी झैं अविरल उनको निरन्तर र गतिमय लेखन उनको प्रेम, विश्वास र श्रद्धाको अनन्त यात्रा बन्यो ।

साहित्य बाटिकाको काँडैकाँडाबीचकी सुगन्धित गुलाफ उनी कहिले सुनगाभा भएर हाँस्छिन्, कहिले सिउँडी भएर फुल्छिन् त कहिले भीरफूल भएर फक्रन्छिन् । शब्द महिमा गाएर कहिल्यै नथाक्ने झमक शब्दमा नै जीवनको रङ्ग, विचारको सुगन्ध र कलाको पारख खोज्छिन् । शब्द नै उनको प्रेममय अभिव्यक्ति हो । कान्तिपुरमा स्तम्भकारको रुपमा पनि व्यवसाय थामेकी झमक अक्षर र शब्दहरुमा नै आफूलाई समर्पित गर्छिन् । साहित्यिक कृतिहरु नै झमकका सन्तान हुन् जो उनकी मानसिक गर्भबाट जन्मिछन् । झमकको रसमय छातिको पवित्र मातृत्व प्राणमय अमृतधार बनी यिनै साहित्यिक सन्तानहरुलाई पुष्ट, सवल र सफल बनाउन अविरल निःसृत भैरहेको छ । हरेक नारीभित्र कोमलता हुन्छ, अथाह मातृत्व हुन्छ । आफ्नो कुमारित्वको बली नचढाई स्वस्थ पराक्रमी सन्तान जन्माउने सौभाग्यशाली झमकको मातृत्व अपरम्पार छ । झमकको मातृवात्सल्यलाई लाख लाख सलाम !!

आफ्ना कृतिहरुमा झमक एक राजनैतिक विचारक, एक भविष्यद्रष्टा साथै एक कुशल दार्शनिकको रुपमा पनि प्रकट भएकी छन् । यद्यपि उनका राजनीतिक लेखहरुभन्दा साहित्यिक लेखहरु नै बढी जोडदार छन् जो मुटुसम्म पुग्दछन् र हृदयमा चिनगारी सल्काउँछन् । झमकलाई ‘झमक’ बनाएको उनका राजनीतिक विचार र सुझावहरुले होइन वल्कि उनको साहित्यसाधनाले नै हो । उनका विचारोत्तेजक र भावनात्मक साहित्यिक लेखहरुले नै हो, जसमा न्याय, मुक्ति र संघर्षका स्वरहरु गुञ्जिन्छन् । उनको सोचाइ र लेखाइमा अराजकता छ । र वास्तवमा उनको लेखाइको सबैभन्दा सवल र सफल पक्ष नै अराजकता हो ।

(२) कठोपनिषद्का नचिकेताको झैं झमकको जीवनयात्रा

नचिकेता उपाख्यान झमकको जीवनसँग धेरै मिल्दोजुल्दो छ ।

उद्दालक नामका एकजना धनी गृहस्थीले एउटा यज्ञ गरेका थिए । यज्ञमा ब्राह्मणहरुलाई दान–दक्षिणा दिंदा अत्यन्तै दुब्ला र बूढा भइसकेका आज मर्ने कि भोलि मर्ने जस्ता गाईहरु दिएछन् । उद्दालकका एकजना बालक छोरा थिए, उनको नाम नचिकेता थियो । बाबुले लोभी भएर त्यस्ता बेकामका गाईहरु दान गरेको देखेर व्यङ्ग्य गर्दै बाबुलाई नचिकेताले भने–“पिताजी ! त्यस्ता गाईहरु त तपाईंले ब्राह्मणहरुलाई दान दिनुभयो, मलाई कसलाई दिनुहुन्छ नि ?” उद्दालकले पहिले त सुनेको नसुन्यै गरे तर जब नचिकेताले बराबर भन्नुस्न पिताजी ! मलाई कसलाई दिनुहुन्छ ? भनी प्रश्न गरिरहँदा उद्दालक अत्यन्त क्रुद्ध भएर ल जा ! तँलाई मैले यमराजलाई दिन्छु ।” नचिकेता पनि फूर्तिसाथ यमराजकहाँ जान भनेर हिंडे ।

नचिकेता यमराजकहाँ तीन दिनसम्म कुरेर बसे । बाहिर घुम्न गएका यमराज घर आइपुगेपछि भोकै–प्यासै तीन दिनदेखिका पाहुना नचिकेतालाई प्रशंसा र सम्मानपूर्वक तीनवटा वरदान माग्न भने । नचिकेताले पहिलो वरदानमा काम नलाग्ने गाईहरु ब्राह्मणलाई दान दिएकोमा आफ्ना पिताजीलाई क्षमादान, दोस्रोमा आत्मज्ञान र तेस्रोमा अग्निविधा मागे । नचिकेतालाई यमराजले धेरै ऐश्वर्य, सुख–सम्पति माग्न भने । तर उनी आत्मज्ञानको अलावा अरु केही लिन पनि मञ्जुर भएनन् । आफ्नै पिताजीबाट यमराजसमक्ष पु¥याइएका र यमराजकहाँ पुगेर पनि जिउँदै अझै साँच्चैको आत्मज्ञानी समेत भएर फर्केका कालजयी, ज्ञानी, विद्वान् र पुरुषार्थी एउटा पुत्र रत्नको कथा हो यो ।

झमकका सम्बन्धमा पनि यही लागु हुन्छ । झमक आफ्नै पिताजीबाट, आफन्तहरुबाट, छरछिमेकहरुबाट, आफ्नै नजिकका भनाउँदाहरुबाट र समाजमा बाठा मानिनेहरुबाट अपहेलित, अपमानित र तिरष्कृत मात्र होइन पटक पटक भावनात्मक रुपबाट पनि आतङ्कित र प्रताडित हुन्थिन् । एउटा भर्खरै फक्रिन लागेको कोपिलालाई बडा दशैंजस्तो महापर्वको उत्सवमा आफ्नै बाबुबाट आशीर्वाद होइन श्राप दिइन्थ्यो । आफ्नै पिताजीले गरेको आफ्नो मृत्युको कामनाबाट उनी मानसिक रुपले विक्षिप्त हुन्थिन् । यद्यपि उनको आत्मविश्वास अनि जीवनप्रतिको मोह र सकारात्मक धारणलाई तहसनहस पार्न कसैको त्रास र श्रापले पनि सकेन । ‘सुन जति नै पटक ठोक्किन्छ, पोलिन्छ, गालिन्छ, पिटिन्छ, गहनामात्र बन्छद ।’ झमकको जीवनमा पनि यही नीतिवचन सार्थक भयो । आफ्नाहरुबाट नै पाएको अवहेलना, तिरस्कार र ती तिक्त जलनकारी कटुवचनलाई पनि कत्ति पनि ‘ऐया आत्थु’ नगरीकन सहेर मृत्युको मुखसम्म धकेलिएकी झमकले यमराजसमक्ष पुग्दा पनि नचिकेताले झैं आफ्ना पिताजीलाई क्षमादान र आफ्ना लागि आत्मज्ञान नै मागेर पृथ्वीलोकमा फर्किइन् । उनी कालजयी भएर ज्ञानप्राप्तिको समुन्नत लक्ष्यमा जीवनयात्रा गरिरहेकी छन् ।

(३) झमक–एक समाजसुधारक, क्रान्तिकारी, विद्रोही अभियन्ता

आफ्ना यी दुई कृतिहरुमा झमकले अन्धविश्वासको बिरुद्ध, अत्याचारको बिरुद्ध, विकृति विसंगति वितण्डा बिरुद्ध, जातीय विभेद र लैङ्गिक असमानता बिरुद्ध शंखघोष गरेकी छन् । स्वतन्त्रता संघर्ष, मुक्ति आन्दोलन, स्वाधीनता युद्ध र जनक्रान्तिहरुको समर्थनमा झमकले आफ्नो कलम बेजोड कुदाएकी छन् । समाजले लगाएका तगारोहरु–सामाजिक, साँस्कृतिक, आर्थिक, लैङ्गिक, वर्गीय, जातीय, साम्प्रदायिक बन्धनहरु तोड्नका लागि उनी सदा लेखिरहन्छिन् । असमानता बिरुद्ध समानताका स्वरहरु, अन्याय, अत्याचार, अव्यवस्था बिरुद्ध न्याय, सदाचार, सुव्यवस्थाका आवाजहरु उनी सदा उठाइरहन्छिन् ।

धर्मको नाममा अन्धविश्वास फैलाउने धार्मिक कट्टरपन्थीहरु प्रति आक्रोशित झमक धावा बोल्छिन्–“यिनै धर्मगुरुहरुले धार्मिक युद्धहरुको शुरुआत गर्दछन् । धर्मले निर्माण भन्दा विध्वंश नै बढी गरेको छ । मानव संहार गरेको छ । मानवहित विपरित काम गरेको छ ।” अतः धर्मशास्त्रहरु नै जलाइदिन चाहन्छिन् झमक । उनलाई कुनै पनि धर्म र ईश्वरमा आस्था छैन । छ त केवल ‘मानवता’ नामको धर्ममा । स्वास्नीमानिसको जातलाई अवहेलना गरेको झमकले आफ्नो जीवनको पूर्वाद्धदेखि नै सहन सक्दिन थिइन् । नारीहरुप्रति संकुचित धारणा राख्ने नीतिशास्त्रका पण्डितहरुलाई उनी धिक्कार्दछिन् । उनी लेख्छिन्–“सामाजिक, राजनैतिक, साँस्कृतिक, आर्थिक, धार्मिक संरचनाहरु छोरी जातीका पक्षमा कहिले बलिया हुन्छन् ? पुराना घरमा जति रङ्गरोगन गरे पनि जति श्रृङ्गारपटार गरे पनि ती घर कमजोर हुन्छन् । त्यहाँका साँस्कृतिक संरचनाहरु यस्ता छन् जसलाई नभत्काई नवीन संरचना निर्माण हुन सक्दैन ।” अतः एउटी महिला सबै अर्थमा स्वतन्त्र हुन आर्थिक रुपमा आत्मनिर्भर हुनु आवश्यक छ ।

बाल्यावस्थादेखि नै नामपछाडि जोडिएका लिङ्ग जनाउने शब्दहरु कुमारी, देवी, माया मन नपराउने झमकले आफ्नो नामबाट ‘कुमारी’ शब्द हटाई झमक घिमिरेको नामले नागरिकताको प्रमाणपत्र बनाउन आफ्नै बाबुसँग र सि.डि.ओ. कार्यालयका कर्मचारीसँग पनि विद्रोह गर्नु परेको थियो । साहित्याकाशमा ‘झमक घिमिरे’ नामबाट फल्न र फुल्न चाहने झमकको जातीय र लैङ्गिक विभेदप्रतिको असहमति, विद्रोह र आक्रोशमा मेरो पूर्ण समर्थन छ । मेरो विचारमा पनि स्वास्नीमानिसलाई आरक्षणको नाममा, संरक्षणको नाममा, अभिभावकत्वको नाममा आफ्नो पिताको, आफ्नो भ्राताको वा आफ्नो पतिको नामसँग जोडिएर पुरुषकै सुरक्षाकवचभित्र बाँच्नुपर्ने कुनै आवश्यकता छैन । यहाँ हरेक स्वास्नीमानिस स्वतन्त्र र स्वच्छन्द भएर एउटा छुट्टै अस्तित्व, व्यक्तित्व र कृक्तित्व बोकेर आफ्नै नामले सुपरिचित, सुप्रतिष्ठित र सुकीर्तिवान् भएर गर्वसाथ जिउन सक्छे, गर्वसाथ मर्न सक्छे ।

रजस्वला, स्वास्थ्य, यौन, प्रजननका विषयहरुमा पनि निःसङ्कोच नीर्भिक वहस गर्न र आफ्नो धारणा राख्न सफल झमकको सोंचाइमा पतिको मृत्युपछि पनि महिलाको सिउँदोको सिन्दुर पखालिनु हुँदैन, गलाको पोते चुँडाइनु हुँदैन । जीवनसाथीको चीनो रक्षाकवच बनेर खडा हुनुपर्दछ । वैद्यव्यधारण र सेतो वस्त्रप्रति विरोध जनाउने झमकले दाइजो प्रथा र पितृसत्तात्मक समाजको पनि विरोध गरेकी छन् । रजस्वला हुने स्वास्नीमानिसको प्राकृतिक वरदानलाई सहर्ष स्वीकार गर्दै झमक लेख्छिन्–“नारी प्रकृति हो, कोमलता हो, निश्चलता हो । नारी धरती हो, ऊ कहिल्यै पनि अपवित्र, बिटुलो हुन सक्दिन ।” बाल्यावस्थादेखि नै विद्रोही स्वभावकी झमक रजस्वला हुँदा घरका दाजुभाइ, बाबु तथा लोग्नेमानिसको अनुहार हेर्न नहुने, सूर्य दर्शन गर्न नहुने जस्ता अन्धविश्वास तोड्न सबैलाई आव्हान गर्दै शंखघोष गर्छिन्–“महिनावारी हुँदाहुँदै पनि हामी स्वास्नीमानिसहरु धार्मिक शुभ कार्यहरुमा सहभागी हुन सक्छौं ।” झमकको स्वरमा स्वर मिलाउँदै मलाई पनि भन्न मन लागेको छ– – Menstruation should be a celebration and not a shame, not a torture. रजस्वला संस्कृत शब्द हो–जसमा रजको अर्थ हो– ]– Menstrual Fluid, which symbolizes the feminine reproductive power. That’s why menstruation should not be associated with impurity but with power the power to create a new life on earth . यस्तो वरदान स्वास्नीमानिसको शरीरले मात्र पाएको छ ।

समाजका मनमस्तिष्कमा अजिङ्गर झैं गुजुल्टिएर बसेका पौराणिक धारणाहरुमा संशोधन, परिवर्तन र समयानुरुप आधुनिकीकरणको जरुरत छ । परम्परागत सोंचाई र ढाँचाहरु तोडेर समाजमा क्रान्तिकारी चेतनाको प्रादुर्भाव हुन अझै बाँकी छ । नारी न्यायनिमित्त समाजमा, साहित्यमा र राजनीतिमा उदाहरणीय नारीहरुको अझै अभाव छ । समाजमा आमूल परिवर्तनका लागि वैचारिक क्रान्ति ल्याउन नेपाल आमाले झमकजस्तै वीर–नारी, सिंह–नारी र योद्धा–नारीहरुकै प्रतीक्षा गरिरहेकी छन् ।

(४) झमक–एक प्रेमी, एक अनुरागी, र एक कलाकार

प्रेम, यौन र जीवनप्रति झमकको सदा सकारात्मक दृष्टिकोण रहेको छ । उनको सोचाइ र लेखाइमा स्वतन्त्रता, स्वच्छन्दता, नीर्भिकता, नारीमुक्ति र समान हक–अधिकारको वकालत जरुर छ, यद्यपि त्यसभित्र नग्नता, अश्लीलता र उच्छृङ्खलता रत्तिभर छैन । झमक कुनै कुण्ठित मस्तिष्कले होइन, कुनै निश्चित घेराभित्र कैद भएर पनि होइन, वल्कि वैचारिक स्वतन्त्रता र स्वच्छन्दताको खुल्ला आकाशमा विचरण गरेर आफ्ना विचारहरु कोर्न चाहन्छिन्, आफ्ना भावनाहरु पोख्न रुचाउँछिन् ।

झमकका लागि यो जीवन जति ठूलो वरदान यो जिन्दगी जति सारपूर्ण उपहार अरु केही छैन । कर्ममय कलात्मक जीवन बाँच्नुलाई नै उनी बाँच्नुको परमार्थ सम्झन्छिन् । झमककै शब्दमा–“जीवन छ र त धरतीको महत्व छ ।” उनी अक्षर, शब्द, गीत, संगीत, साहित्य र कलामा जीवनको अर्थ भेटिछन् । कुची र रङ्गले क्यानभासमा आफ्ना भावनाहरु पोख्न रुचाउने झमकभित्र एउटा सिर्जनशील कलाकार पनि लुकेको छ ।

झमक लेख्छिन्–“प्रेम जीवनको आवश्यकता हो जसले जीवन डो¥याउन सहज पारिदिन्छ ।” उनी प्रेम र यौनका विषयमा निःसंकोच र स्पष्ट प्रस्तुत हुन्छिन्–“यौनका कुराहरुमा पनि खुल्लमखुल्ला वहस हुनुपर्छ । समाजमा यौन सम्भोग मात्र हो भने कुविचार हटेर जानुपर्छ । यौन विषयका प्रजनन स्वास्थ्यका कुराहरु किशोरकिशोरीहरुलाई ज्ञान दिइनुपर्दछ । मानवसभ्यता कहाँबाट कहाँ पुगिसक्यो तर विचरा नेपाली समाज प्रकृतिले दिएका कुराहरुमाथि वहस गर्न पनि डराउँछ, छलफल र तर्कवितर्क गर्न समेत लजाउँछ ।”

विवाहप्रति पनि झमकको दृष्टिकोण सकारात्मक छ, यद्यपि नवपिँढीले आफू शारीरिक र मानसिक रुपमा तयार नहुँदासम्म विवाहको बारेमा सोंच्नु अव्यावहारिक र अदूरदर्शी ठहरिन्छ भन्ने उनको ठम्म्याइ छ । झमकको डायरीका केही अंशहरुबाट उनको दिलचन्द्र नन्दन दाजुसँग मीठो मित्रता साथै एक किसिमको प्रगाढ प्रेम र गहिरो सम्बन्ध रहेको कुरा झल्कन्छ जो उनी आफैले पनि स्वीकार गरेकी छन् । आफ्नो हृदयमा सधैं पूजित ती दिलचन्द्र नन्दन र उनको पवित्र निश्चल माया अनुरागी झमकको जीवन–बाटिकामा प्रेममय सुगन्धित गुलाब बनेर रहेको छ ।

हुन पनि हो– प्रेमबिनाको जीवन शुष्कताको चरमबिन्दु हो । वासनाहीन हुनुलाई संवेदनाहीन सम्झने झमकको विचारमा संसारका अरु सबै मनुष्यहरुमा झैं अपाङ्ग अर्थात् ‘मषाभचभलतथि बदभिम’ हरुलाई पनि दया माया मात्र नभई अवसर, वातावरण र शिक्षादीक्षा हासिल गर्ने पूर्ण हक र अधिकार दिइनु पर्दछ । उनीहरुमा पनि सबै सपाङ्गहरुमा झैं प्रेम र यौनको चाहना हुन्छ जो कुनै उच्छुङ्खलता होइन वल्कि सामान्य मानवीय चाहना र आकांक्षा मात्र हो । अतः उनीहरुलाई पनि आफ्नो इच्छामुताविक वैवाहिक सूत्रमा बाँधिने, सन्तानोत्पादन गर्ने र पारिवारिक मायाममताको आलिङ्गनमा रमाउने सम्पूर्ण अधिकार र स्वतन्त्रता हुनुपर्दछ । हुन त विकसित मुलुकहरुमा यो कुनै अवरोध बनेको छैन, यद्यपि हाम्रो जस्तो विकासोन्मुख मुलुकहरुमा यसमा सकारात्मक धारणा राखिनु पर्दछ र समाजमा यसलाई फस्टाउन दिइनु पर्दछ ।

(५) अनिश्वरवादी झमक – मानवताकी महान् पुजारी

कुनै पनि वर्ग, समुदाय, सम्प्रदायको धर्म नमान्ने, र मानिसको सुन्दर मन र व्यवहारमा नै ईश्वर देख्ने झमक कुनै अलौकिक देवता मान्दिनन् । “फर्क फर्क हे जाऊ समाऊ मानिसहरुका पाऊ; मलहम लगाऊ आर्तहरुका चहराइरहको घाउ ।” – देवकोटाको मानवतावादी बोल नै झमकको पनि सन्देश हो । जीवनको उत्तरार्धमा नपुग्दै झमक आफ्नो अन्तिम इच्छा यसरी घोषणा गर्छिन्–“मृत्युले लगेपछि पनि मेरो लाशलाई कुनै धर्मको कात्रो नओढाइयोस्, क्रियापुत्री पनि नबसाइयोस् । लाशमाथि दागबत्ती नदिइयोस् । मेरो शब आजका ती वैज्ञानिकहरुलाई समर्पण छ जसको अध्ययन–अनुसन्धानले मानव चिकित्सा विज्ञान फराकिलो हुनेछ ।” झमकको घोषणा सुन्दा मलाई जापानी चिकित्सक स्व. डा. इवामुराको सम्झना आउँदछ, जसले जीवनभर मात्र होइन मृत्योप्रान्त पनि समर्पणको गति गाउन छोडेनन् । द्वितीय विश्वयुद्धमा जापानको हिरोशिमा टापू नजिक आफ्नै छातिमा अमेरिकी बम प्रहार थामेका इवामुरा जीवनभर ब्लड क्यान्सर लिएर बाँचे, किमोथेरापी र ब्लड ट्रयान्स्फूजन गराउँदै बाँचे । आफू स्वयं ब्लड क्यान्सर पीडित भएर पनि सन् १९६० देखि नेपालका दुर्गम क्षेत्रमा मिशीनरी डाक्टरका रुपमा उनले बीस वर्ष योगदान दिए । उनको यही ऐतिहासिक अद्वितीय योगदानका लागि उनलाई सन् १९९३ मा रेमन म्यागसेसे अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरियो । झमकले झैं डा. इवामुराले पनि आफ्नो शरीर वैज्ञानिक अनुसन्धानका लागि चिकित्सा क्षेत्रलाई अर्पण गरेका थिए ।

मानिसको जीवन सरल रेखामा प्रायः हिंड्दैन । त्यस्तो सरल रेखामा सलल बग्ने जीवन प्रभावशाली पनि हुँदैन । झमक र डा. इवामुराहरुजस्ता महामानवहरुको जीवन सरल रेखा होइन वक्र रेखामा चल्दछ, त्यसैले त उनीहरुको जीवन आफैमा एउटा सफल कृति बनेको छ, उनहिरुको जीवन विश्वविद्यालयको भन्दा उच्चतर शिक्षा बनेको छ । डा. इवामुरा र झमकहरुजस्ता मानवताका महान् पूजारीहरुका जीवनसन्देश र सुकर्मले हाम्रो हृदयमा पनि समर्पणको नदी बग्दछ, नवपिढिंहरुलाई महत्तम कार्यका लागि उत्सर्गित गर्दछ र दुई घडी नै सही शुभकर्मकै निमित्त समर्पणकै जीवन जिउन सिकाउँदछ–

“मुहूर्त मपि जीवेत नरः उज्ज्वल कर्मणा ।

न कल्पद्वय कष्टेन लोकद्वय विरोधिना ।।”

(६) आन्तरिक शक्ति, सौन्दर्यकी र वैचारिक धनाढ्यकी प्रतीक झमक

मानिसको वैचारिक र भावनात्मक सौन्दर्यलाई बढी महत्व दिने झमक वषर्पिच्छे सुन्दरताको ताज पहिरिने होडमा कुद्ने सुन्दरीहरुभन्दा अष्ट्रावक्रलाई सुन्दर देख्छिन् । पूर्वीय दर्शनमा उभ्याइएका प्रतिक पात्रहरुबाट उत्प्रेरित झमकको परिभाषामा मानवीय अनुभूति, हृदय, संवेदना र भावुकता नभएको व्यक्ति यान्त्रिक मानव हो । उनी माक्र्स, लेनिन र माओका विचारहरु मन पराउँछिन् । सिनेमाका नायक नायिकाहरुभन्दा उनी बरु गान्धी, लिङ्कन, मण्डेला, कोफी अनान र सुकरात जस्ता महान् व्यक्तिहरुलाई कता हो कता सुन्दर देख्छिन् ।

झमकको विचारको पूर्ण समर्थन गर्दै मलाई पनि भन्न मन लागेको छ – मानिसको बाहिरी रुप, रङ्गीचङ्गी लुगा, अत्तरको बास्ना, सतही मेकअप आदि बाहिरी साजसज्जा र तडकभडक मानिसका वास्तविक सौन्दर्य होइनन् र यदि हो नै भने पनि त्यस्तो सौन्दर्यले कुनै व्यक्ति र समूहलाई केही समयसम्म आल्हादित पार्दछ । त्यो लवण ओइलाउन थालेपछि विलीन भएर जान्छ । मान्छेको सौन्दर्य वाङ्मय होस् । चेतनामय होस् जो जति उमेर खान्छ त्यति बृद्ध होइन झन् झन् तरुण र आकर्षक हुँदै जान्छ र त्यसले एउटा व्यक्ति र समूहलाई मात्र होइन पूरा समाजलाई नै युग युगसम्म आल्हादित पार्दछ ।

संसार हाँक्ने विचारले हो, न अनुहारले न कि शरीरले । मानिसको सौन्दर्य भन्नु नै उसको सुविचार हो, सुभावना हो, सुकीर्ति हो । उच्छृङ्खल शरीर प्रदर्शन र सुन्दरी प्रतियोगिताहरु होइन आज देश र जनताका लागि सौन्दर्यशील योद्धाको खाँचो भएको झमकको ठम्म्याइ छ । झमकको डायरीले शारीरिक सुन्दरता, सम्पन्नता र अति भौतिकवादको उन्मादले अन्धा भएकाहरुको आँखा उघारिदिएको छ । झमक चाहन्छिन् लक्ष्मीपूजाको दिन मानिसले धनसम्पत्तिको पूजा होइन बल्कि आफ्नै सामथ्र्यसँग गाँसिएको सिर्जनाहरुको पूजा गरोस् । त्यस्तै गरी श्रीपञ्चमी अर्थात् सरस्वती पूजा पनि सरस्वती मूर्तिमा फूल र अक्षताको पूजा होइन वल्कि ज्ञान र बुद्धिको पूजा हो, मेहनत र लगनशीलताको पूजा हो । नेवारी संस्कृति अन्तर्गतको ‘म्ह पुजा’ मा विश्वास गर्छिन् झमक । मान्छेले अलौकिक ठानेको शक्ति मानिस स्वयं आफैभित्र रहेको सिर्जनाको शक्ति हो, आत्मविश्वास र दृढताको आत्मिक शक्ति हो जसको पूजा र संरक्षण मानिस आफैले गरोस् ।

मन्दिरमा ढुङ्गाको मूर्ति नपुज्ने झमक हरेक मानिसभित्र एउटा अलौकिक शक्ति (Supernatural Power) देख्छिन् जो कुमारीको निधारको तेस्रो नेत्र झैं ‘ज्ञान चक्षु’ को रुपमा विद्यमान हुन्छ । त्यही शक्ति सिर्जनामा बदलिन्छ । जीवनका उज्याला सुनौला आभाहरु निरन्तर पछ्याइरहने झमकलाई त्यही आत्मिक शक्ति (Inner Strength) ले नै विश्वप्रसिद्ध लेखिका बनायो, अन्तर्राष्ट्रिय क्षेत्रकै लोकप्रिय साहित्यकार बनायो ।

(७) झमक–एक अविश्रान्त कर्मयात्री र एक पथप्रदर्शक

‘चरैवेति’ झमकको जीवनगीत हो । चरैवेति (चर+एव+इति) को अर्थ हुन्छ–‘गीतशील रहू मात्र । यही हो जीवन भनेको’ । उनका लागि जीवन जति ठूलो वरदान अरु केही पनि छैन र उनको जीवनको आनन्द नै लेखनको गतिमयता हो । जीवनका मर्माहत क्षणहरुमा पनि झमक जीवनबाट विमूख र आफ्नो लेखनधर्मबाट च्यूत भएकी छैनन् ।

जीवनपथका उकाली–ओहली, भीर–पाखा, ढुङ्गाकाँढा, जङ्गल–मरुभूमिका महाकष्टदायी यात्राहरुमा पनि नथाकी निरन्तर हिंडिरहन्छिन् कर्मयात्री झमक । जीवनका ज्वारभाटाका उथलपुथल, भूँइचालोको कम्पन, आँधीबेहरी, बादल–बिजुली–बज्रका प्रकोप पनि बेहोर्दै अघि बढिरहन्छिन् स्वाभिमानी झमक । जीवन–यात्राका कहालीलाग्दा चिच्च्याहट र राक्षसी आक्रमणहरुबाट पनि नतर्सी लक्ष्य प्राप्तिका लागि संघर्षरत रहिरन्छिन् वीराङ्गना झमक । उनको धैर्य र आत्मविश्वासलाई क्षतविक्षत र तहसनहस पार्न कुनै वाधा अवरोध कसैको गालीगलौज र श्रापले सकेन । त्यसैले त जीवनमरणका मर्माहत स्थितिहरुलाई पनि बेहोर्दै उनी अखण्ड, अक्षुण्ण र अविच्छिन्न भएर जीवनरथ हाँकिरहेकी छन् ।

झमकको जीवनलाई सफल बनाएको शिक्षा (Education) ले होइन । जेहेन्दारी (Intelligence) ले पनि होइन । झमकलाई ‘झमक’ बनाएको त लगनशीलता (Persistence) र दृढता (Determination) ले नै हो । यहाँ म संयुक्त राज्य अमेरिकाका तीसौं राष्ट्रपति क्याल्भिन कूलिजको भनाई उद्धृत गर्न सान्दर्भिक सम्झन्छु– “Nothing in this world can take the place of persistence. Talent will not; nothing is more common than unsuccessful people with talent. Genius will not; unrewarded genius is almost a proverb. Education will not, the world is full of educated derelicts. Persistence and determination alone are omnipotent.” (“यो दुनियाँमा लगनशीलताको कुनै जवाफ छैन । प्रतिभाले सक्दैन, असफल प्रतिभाशालीका उदाहरणहरु छ्यास्छयास्ती छन् । आविष्कारमूलक मस्तिष्कले पनि सक्दैन, अपुरस्कृत दिमागहरुका त किम्बदन्ती नै बनेका छन् । शिक्षाले पनि सक्दैन, पढेलेखेका मूर्खहरुले त दुनियाँ ढाकेका छन् । लगनशीलता र दृदता नै सफलताका सर्वशक्तिवान् आधार हुन् ।”)

झमककोे साहित्यिक, शैक्षिक र सामाजिक योगदान बन्दनीय र स्तुत्य छ । विद्यालयीय र विश्वविद्यालयीय शिक्षाबिना नै उनी प्राज्ञ बनिसकेकी छन् । अन्तर्राष्ट्रिय स्तरकै ख्यातिप्राप्त साहित्यकारका रुपमा सम्मानित भइसकेकी छन् । उनको आत्मकथा झैं डायरी पनि विश्वका विविध भाषाहरुमा अनुदित हुन लायकको छ । झमकको डायरी पढ्दा मैले विश्वका अन्य वीराङ्गनाहरुको डायरी स्मरण गर्न पुगे–ती हुन्–दोस्रो विश्वयुद्ध कालमा नाझी नृशंसताको वृहत् पृष्ठभूमिमा एनी फ्रेङ्क (Anne Frank) र रुटका लास्कियर (Rutka Laskier) को डायरी, अनि त्यस्तै गरी भियतनाम युद्धकाल (सन् १९५४) ताका अमेरिकी आक्रमणबाट २७ वर्षकै उमेरमा दिवङ्गग भियतनामी चिकित्सक सर्जन डा. याङ्ग थई चामको युद्ध डायरी ‘Yesterday I Dreamt of Peace’ । यस्ता कालजयी कृतिहरुले जगतभरि समर्पणका अजम्बरी बीउ रोप्छन् ।

एकातिर घोर निराशावादको शिकार भएका उदासीनहरुलाई झमकको कृति आशावादको शक्तिसञ्चार गराउने ऊर्जावान् टनिक हो त अर्कोतिर चरम भौतिकवादको उन्मादले विकृतितिर उन्मुख आजका नवपिढींहरुलाई झमकको लेखन विश्वविद्यालयीय शिक्षाभन्दा पनि उच्चतर पाठ हो । झमकको लेखन र उनको जीवनले यहाँ हरेकलाई जिन्दगीका अनगिन्ती चुनौतीहरु सामना गर्दै ‘असतोमा सत्गमय’, ‘तमसो मा ज्योतिर्गमय’ र ‘मृत्योर्मा अमृतम् गमय’ भनेझैं असत्बाट सत्यतिर, अँध्यारोबाट उज्यालोतिर, अज्ञानबाट ज्ञानतिर र मृत्युबाट जीवनतिर डो¥याउँदछ । अनि सत्यम् शिवम् सुन्दरम्को आराधनामा अध्ययनशील, चिन्तनशील र सृजनशील बनी देश र समाजप्रति कर्तव्यनिष्ठ, धर्मपथगामी, आनन्दपथयात्री र सत्यान्वेषी बनी अविश्रान्त पाइला चालिरहन सिकाउँदछ ।

© 2020 Buddha Harmony Foundation. All rights reserved.






Follow the instructions that will be shown on your screen, and essay writer will revise the document according to your remarks When you are surfing the web thinking, “Who can write my essay for me cheap?” you are probably looking for a reputable company with lots of customer reviews When working with our essay writing service, you are guaranteed to get: Unique texts. Anti-plagiarism check But we’re here to change that! Our college essay help service offers a perfect price-to-quality ratio Welcome to the best essay writing service! Our research paper writers are 100% subject experts. Hire a term paper writer to do your assignment from scratch. The third stage is a personal interview. A good essay writers is a qualified professional with the necessary hard and soft skills intacsaludocupacional.com