स्पाइनल इञ्जुरी र ह्वीलचेयर खेलकुद


-सन्ध्या रेग्मी

२०७२ जेष्ठ ३० गते (सन् २०१५ जुन १३ तारिख) को त्यो शनिबारको रौनक नै बेग्लै सथियो । त्यही दिन भूकम्पपीडित ह्वीलचेयर खेलाडीहरुका लागि Earthquake-Refreshment Wheelchair Basketball Tournament को आयोजना गरिएको थियो । जर्मनीको कोलोनस्थित जर्मन नेपाल मैत्री संघ (GNFA: German Nepal Friendship Assoication का अध्यक्ष एवं गैर आवासीय नेपाली संघ (NRNA) जर्मनीका चीफ पेट्रन वरिष्ठ समाजसेवी श्री राम प्रताप थापाको विशेष सहयोगमा भएको त्यस रोचक एवं उत्प्रेरक खेलकुदमा कार्यक्रम संयोजकको रुपमा सक्रिय योगदान गर्न पाउनु मेरा लागि पनि एउटा सुनौलो अवसर थियो ।

“ह्वीलचेयर – बास्केटबल’ भन्नेबित्तिकै पाठकहरुको मनमा कौतुहल अवश्य जाग्दछ – ह्वीलचेयरमा बसी बसी कसरी खेलिन्छ होला । तर दर्शक बनेपछि मात्र बोध हुन्छ – खेल्न सकिने मात्र होइन प्रतिस्पर्धा नै गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार सम्मानले सुशोभित पनि भइन्छ । असम्भवहरुलाई सम्भवमा परिणत गर्नु नै जीवनको लक्ष्य हो । जीवनमा सफल हुनुको भन्दा सार्थक हुनुको बढी महत्व हुन्छ ।

ललितपुर भनिमण्डल स्थित बास्केटबल कोर्टमा त्यस दिन त्यो अनुपम खेल हेर्ने सौभाग्य जो जतिले पाए उनीहरुले जीवनमा सार्थक हुनुको महत्व अवश्य नै बुझे । एकातिर आफ्नो शरीरका सबै अवयवहरु सुन्दर, सक्रिय र सबल भएका कतिपय बलवान व्यक्तिहरुले जीवनजस्तो सुन्दुरतम महत्वपूर्ण उपहारलाई समेत उपेक्षा गरी अत्यन्त निश्क्रिय, अनुत्तरदायी, असामाजिक र जिउँदै मरेतुल्य जीवन बिताइरहेका हुन्छन् भने अर्कोतर्फ मेरुदण्डजस्तो संवेदनशील अङ्गमा कडा आघात परी त्यस मुन्तिरका सबै अंग अचेत अपाङ्ग बन्न पुगेर जीवनभर ह्वीलचेयरको सहारा लिन पर्ने विशिष्ट व्यक्तिहरुले आफूले असैह्य, अकल्पनीय दुःखकष्ट सामना गरी समाजमा बाँच्नका लागि पाइलैपिच्छे संघर्षैसंघर्ष गर्नुपर्दाको बाबजुत पनि जीवनमा उदासीनता, नैराश्यता र नकारात्मक सोचाइलाई पन्छाएर सकारात्मक सोचाइ, सिर्जनशीलता र आत्मबलमा विश्वास गरी शारीरिक अपाङ्गताका बाबजुत पनि सक्रिय सार्थक मैत्रीपूर्ण सामाजिक जीवन बाँचिरहेका हुन्छन् । यस्ता अनुशासित, कर्तव्यनिष्ठ, कर्मशील योद्धाहरुको जीवन समाजका सबै वर्गहरुमा लागि नै धैर्य, आँट, हिम्मत, लगनशीलता, आत्मबल र प्रतिबद्धताको उदाहरणीय पाठ बन्दछ । त्यस दिन ह्वीलचेयर खेलाडीहरुले हामी सबल साङ्गहरुका लागि कर्मशीलताको अनमोल पाठ पठाएर हृदयमा नै अमीट छाप छोडेर गए ।

स्पाइनल कर्ड इञ्जुरी भएकै व्यक्तिहरुको अथक परिश्रम र लगनबाट खेलकुद, सचेतना, वकालत, संगठन, सशक्तिकरण, परामर्श, पहुँच, आय आर्जन र सीप विकासको माध्यमबाट मेरुदण्डमा चोट लागेर अपाङ्ग बन्न पुगेका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन, उनीहरुको सशक्तिकरण गर्न अनि समाज र देशलाई नै अपाङ्गमैत्री बनाउने उद्देश्यले सन् २००९ मा स्थापना गरिएकाले (NSCISA: Nepal Spinal Cord Injury Sports Association) नेपालमा ह्वीलचेयर खेलकुदको जन्मदाता नै बन्न पुग्यो । आज म यही नेपाल स्पाइनल कर्ड इञ्जुरी खेलकुद संघको सल्लाहकारको रुपमा योगदान गर्न पाउनुमा गर्व गर्दछु ।

श्री किशोर बहादुर शाही अध्यक्ष, सुश्री लक्ष्मी कुँवर उपाध्यक्ष, श्री ऋषिराम ढकाल महासचिव, श्री शिवराज न्यौपाने कोषाध्यक्ष तथा गायत्री दाहाल, सोनिका ढकाल, देवी आचार्य र रामकुमार पौडेल सदस्य रहनुभएको त्यस संघले ह्वीलचेयर बास्केट बलको अलावा ह्वीलचेयर टेबुल टेनिस, ह्वीलचेयर क्रिकेट, चेस, स्वीमिङ लगायत विविध खेलहरु समावेश गरी आजसम्म नेपालमा सयौं ह्वीलचेयर ‘एथलीट’ हरु पनि जन्माइसकेको छ ।

डेनमार्क DSOD (Danish Sports Organization for the Disabled) सँगको हातेमालोमा NSCISA ले आफ्ना खेल गतिविधिहरुलाई अगाडि बढाउँदै लग्यो । काठमाडौं उपत्यका लगायत पोखरा, चितवन र काभ्रेका पुरुष साथै महिला ह्वीलचेयर खेलाडीहरुलाई विभिन्न स्थान र समयमा खेलकुद कार्यशालाको आयोजना गरी डेनिश प्रोफेशनल र कोचहरुद्वारा ह्वीलचेयर बास्केटबल, टेबुल टेनिस र प्यारा स्वीमिङको क्रमबद्ध तालिमहरु दिइयो ।

सन् २०१३ सेप्टेम्बरमा ललितपुरको नेपाल स्वीमिङ, एसोशिएसनले नेपालको इतिहासमै प्रथम पटक ह्वीलचेयर खेलाडीहरुलाई पनि राष्ट्रिय स्वीमिङ, प्रतियोगितामा समावेश गरी प्रशंसनीय कार्य ग¥यो । जसमा नेपाल आर्मीका राजु कटुवाल र जोरपाटीको प्रतिष्ठित पौडीबाज एवं SIRC को Sports Peer Counselor सोनिका ढकालले पौडीमा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

आफ्नो अथक लगन, हिम्मत र उत्साहले तालिमप्राप्त ह्वीलचेयर खेलाडीहरु राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मैदानमै खेलेर देशको गौरव र शान राख्न सफल भए । सन् २०१४ नोभेम्बर २७ डिसेम्बर ३ सम्म बंगलादेशमा भएको प्रथम अन्तर्राष्ट्रिय ह्वीलचेयर बास्केटबल टर्नामेण्टमा NSCISA मार्फत नेपालका ह्वीलचेयर खेलाडीहरु बंगलादेश पुगी आफ्नो प्रतिभा र ऊर्जाले सबैको मन जित्न सफल भए ।

सन् २०१५ जनवरीमा NSCISA ले नेपाल र पाकिस्तानका ह्वीलचेयर खेलाडीहरुका लागि पुल्चोक इञ्जिनियरिङ्ग अध्ययन संस्थानको खेल मैदानमा अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेट टर्नामेण्टको आयोजना गरी विश्वमै ह्वीलचेयर क्रिकेटको गर्विलो इतिहास स्थापना ग¥यो ।

भूकम्पपीडितका मनबाट भय र त्रास हटाई शारीरिक र मानसिक स्फूर्ति र सन्तुलन पुनःस्थापनाको लक्ष्य राखेर NSCISA द्वारा खेलाइएको त्यस “Earthquake Refreshment Wheelchair Basketball Tournament” मा जाउलाखेल, जोरपाटी, चाबहिल, नेपाली सेना, जोरपाटी महिला ‘क’ जोरपाटी महिला ‘ख’ गरी ६ समूहका कूल ५२ जना ह्वीलचेयर खेलाडीहरु, १३ जना स्वयंसेवीहरु, ६ कोचहरु लगायत सयौंका संख्यामा दर्शकहरुको उपस्थिति थियो । NSCISA का अध्यक्ष किशोर शाहीको सभापतित्वमा NSCISA का महासचिव ऋषिराम ढकाल तथा संघका वरिष्ठ सदस्य एवं समाजसेवी गायत्री दहालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा तपोवन नागार्जुनका प्राचार्य स्वामी आनन्द अरुण प्रमखु अतिथि, नेपाल अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदी, प्रतिष्ठित कलाकार तथा नेपाल अपाङ्ग महासंघका पूर्व महासचिव सञ्जय वान्तवा विशेष अतिथि, कार्यक्रम संयोजक सन्ध्या रेग्मी तथा स्वदेशी र विदेशी समाजसेवीहरु पनि हुनुहुन्थ्यो ।

भूकम्पको महाविनाश र पीडालाई एकपटक बिर्साएर त्यस सनसनीपूर्ण खेलले सबैलाई शारीरिक र मानसिक खुराक दिइरहेको थियो । मानिसको शरीरका कुनै अङ्ग शिथिल र निष्क्रिय हुँदैमा ऊ भित्रको सिर्जनशक्तिमा कुनै कमी रहँदैन । त्यही सिर्जनशक्ति ऊर्जामा बदलिन्छ र आश्चर्य गरिदिन्छ । त्यस दिन खेल मैदानमा त्यस्तै चमत्कार भइरहेको थियो ।

केही उत्कृष्ट खेलाडीहरुको नाम उल्लेख नगर्दासम्म मेरो मनले सन्तोष लिन सकिरहेको छैन । नेपाली सेनातर्फ नारायण दवाडी र राजु कटुवालले अकल्पनीय ढङ्गबाट खेलेर विजयी भई “Men of the Match” ले आभूषित भए । जोरपाटी महिला समूहका हेमकला सुनुवार, लक्ष्मी घिमिरे र सोनिका ढकालको ऊर्जा र वेग घोडाको भन्दा जोडदार थियो । उनीहरु “Women of the Match” घोषित भए । अन्य महिला खेलाडीहरु लक्ष्मी कुँवर, राधिका धिताल, देवी आचार्य, नन्दा सुनुवार, जेनीशा कडायत, बिमला तामाङ, जुना शाही, रजनी राई र लाली शेर्पाले पनि उत्तिकै राम्रो खेलेका थिए ।

नेपाल भूमिमै नरहेर पनि नेपाल र नेपालीलाई बिछट्टै माया गर्ने रामप्रताप थापाले जर्मनीबाटै सहयोग गरिदिएर ह्वीलचेयर खेलाडीहरुमा जुन जाँगर र उत्साह भरिदिनु भयो, महाभूकम्पको विपतमा राज्यद्वारा अपहेलित यो वर्गलाई दिइएको त्यो माया सद्भाव अत्यन्त सराहनीय कार्य थियो ।

२०७२ जेष्ठ ३१ गते (June 14, 2015) आइतबार काभ्रे जिल्लाको साँगास्थित स्पाइनल इञ्जुरी पुनःस्थापना केन्द्र (SIRC: Spinal Injury Rehabilitation Centre) का घाइते बिरामीहरुलाई फलफूल वितरणको कार्यक्रम थियो, जुन सहयोग पनि जर्मन नेपाल मैत्री संघका अध्यक्ष रामप्रताप थापाबाट प्राप्त भएको थियो । श्री कनकमणि दीक्षितको पहलमा विदेशी सहयोगबाट निर्माण भएको त्यस पुनःस्थापना केन्द्रको समुद्घाटन सन् २००२ अप्रिल ७ तारिख सर एडमण्ड हिलारीको हातबाट भएको थियो ।

SIRC का कर्मठ कर्मचारीहरु लगायत NSCISA का समर्पित महासचिव र सदस्यहरु क्रमशः ऋषिराम ढकाल, गायत्री दाहाल र सोनिका ढकालको सहयोगबाट ताजा फलफुलहरु स्याउ, केरा, मौसम र आँपहरु भरिएका झोलाहरु त्यहाँ ११५ बेडका सबै बिरामीहरुलाई बाँड्दै गयौं ।

महाभूकम्पको विनाशबाट मेरुदण्डमा आघात परेका बिरामीहरुमा सिन्धुपाल्चोकका भूकम्पपीडितहरुको संख्या अत्याधिक थियो । जोरपाटीस्थित नेपाल अर्थोपेडिक हस्पिटलमा शल्यक्रिया र उपचारपश्चात उनीहरुलाई SIRC मा पुनःस्थापनाका लागि ल्याइएको थियो । त्यहाँ ३ महिना थप उपचार र फिजियोथेरापी गराई कतिपयलाई हिड्नसक्ने अवस्थामा ल्याइन्छ त कतिजना भने चोट लागेको मेरुदण्ड मुन्तिरको सम्पूर्ण भाग नै नचलाउन नसक्ने गरी अपाङ्ग बन्दछन् ।

सबैभन्दा कम उमेरको बालिका मुना तामाङको अति दुःखपूर्ण अवस्था छ । धादिङमा आफ्नै घरभित्र पुरिएकी २ वर्षकी मुनाको मेरुदण्डमा शख्त आघात परेको छ । मलेशियाबाट फर्किएको मुनाका बाबु सिंहबहादुर तामाङ घर र जागिर बिना नै छोरीको उपचारमा समर्पित छन् । एस.एल.सि को नतिजा पर्खिरहेकी १८ वर्षकी सिन्धुपाल्चोककी सृष्टिमाया तामाङको पनि मेरुदण्डमा चोट लागेको कारणले हलचल हन सक्दैन । भरखरै जन्मिएकी एक शिशु र स्पाइनल इञ्जुरी भएकी सुत्केरी आमाको पनि त्यहाँ उपचार हुँदैछ । उनीहरु सबैलाई यथाशीघ्र स्वदेशी एवं विदेशीजनहरुबाट चन्दा उठाई पुनःस्थापना खर्च जुटाइनु पर्दछ ।

स्पाइनल इञ्जुरी अत्यन्त संवेदनशील शारीरिक र मानसिक दुर्घटना हो जसले चोट लागेको मेरुदण्डको भागमुन्तिरका सम्पूर्ण अङ्गहरुको मस्तिष्कसँग सम्पर्क टुटाइदिन्छ जसले गर्दा मानिसको दिसापिसाब विसर्जन (Bowel and Urinary Movement) आफ्नो काबूमा रहन सक्दैन । यसको अलावा शरीरको तापक्रम, रक्तचाप र हृदयगतिमा पनि असर गर्दछ ।

विगत २९ वर्षदेखि यही दुर्घटनाका कारण ह्वीलचेयरमा रहनुभएकी दृढता र आत्मबलकी धनी एवं NSCISA की वरिष्ठ सक्रिय सदस्य एवं समाजसेवी गायत्री दाहाल भन्नुहुन्छ –“हामी शहरीकरणमा बसेकालाई त यस्तो कष्टप्रद छ, गाउँघरमा भएकाहरुलाई झन् कस्तो पीडा भैरहेको होला । ह्वीलचेयरमै जीवन सीमित रहँदा र दिसापिसाब समेत आफै गर्न नसक्दा कस्तो पीडा भैरहेको होला । हामी त सानो बच्चामा गनिन्छौं किनकि एउटा स्वयंसेवी बिना हाम्रो जीवनयापन नै सम्भव हुँदैन ।” सुश्री दाहाल भन्नुहुन्छ –“स्पाइनल इञ्जुरी भएकाहरु त्यसैले डिप्रेशनको शिकार बन्नु र आफ्ना परिवारका सदस्यहरुबाट नै अपहेलित भएमा आत्महत्याको बाटो रोज्ने विचार आउनु अत्यन्त स्वभाविक हो । उनीहरुको 1) Depression, 2) Inception / 3) Bed Sore बाट मृत्यु पनि हुन सक्छ । हामीले धेरै सहयोगी हातहरु पनि पाएका छौं, तर राज्यबाट हामी अपहेलित वर्ग हौं । राज्यले पनि हेरिदेओस् भन्ने हाम्रो चाहना छ ।”

NSCISA को स्थापनाकालदेखि नै स्पाइनल इञ्जुरी भएकाहरुको सेवा र उत्थानमा समर्पित महासचिव ऋषिराम ढकालले बौद्ध जोरपाटी मार्गलाई अन्तर्राष्ट्रिय स्तरकै अपाङ्ग(मैत्री मार्ग बनाउन महत्वपूर्ण भूमिका खेलिहरनु भएको छ । उहाँको अथक श्रम र लगनबाट नै सन् २०१३ सेप्टेम्बर ८ तारिख प्रतिष्ठित ‘मह’ जोडी, आनी छोइङ डोल्मा र अन्य समाजसेवीहरुको उपस्थितिमा बौद्ध जोरपाटी स्थानीय बासिन्दाहरुबाट ३७ हजार रुपियाँ चन्दा उठाइएको थियो – Khagendra Accessible Road Campaign का लागि । महासचिव ढकाल भन्नुहुन्छ “यसको अनुमानित खर्च ३० लाख रु हो जसमा सरकारले ६०% खर्च बेहोरिदिएमा यो अभियानले अपाङ्ग मैत्री का अन्य अभियानहरु पनि जन्माउने थियो । हाम्रो संघ अन्तर्राष्ट्रियकरण गर्ने पनि हाम्रो लक्ष्य हो ।”

उहाँहरुको स्वरमा स्वर मिलाउँदै मलाई भन्न मन लागेको छ अब पुनःनिर्माण हुने नव(नेपालमा बाटोघाटो मात्र होइन अस्पताल, शिक्षण संस्था, कार्यालय भवन, मनोरञ्जन गृह, सबै शौचालयहरु लगायत ऐतिहासिक धरोहर र कलासम्पदाहरु पनि अपाङ्ग मैत्री बनाइनु पर्दछ । ‘बसुधैव कुटुम्बकम्’ को भावनामा रम्ने यो समाज, सम्पूर्ण राष्ट्र र विश्व नै अपाङ्ग मैत्री बनोस् ।

© 2016 Buddha Harmony Foundation. All rights reserved.